अमेरिकाका केही राज्यमा आर्थिक क्षेत्र खुला गरियो

अलास्का (एजेन्सी)– नोवल कोरोना भाइरस ९कोभिड–१९० को संक्रमण नफैलियोस् भनेर लकडाउन गरिएका तीन अमेरिकी राज्यका आर्थिक क्षेत्र सुचारु भएका छन् । जर्जिया, ओक्लाहोमा र अलास्का राज्यले सुरक्षात्मक उपायसहित केही आर्थिक क्षेत्र खोलेका हुन् ।

जर्जिया र ओक्लाहोमामा स्पा, सैलुन, ट्याटु, फिटनेस क्लब र व्यक्तिगत हेरचाहसम्बन्धी अन्य व्यवसाय सुचारुको अनुमति दिएको छ भने अलास्काले रेस्टुरेन्टमाथिको प्रतिबन्ध हटाएको छ । जर्जियामा सोमबारबाट रेस्टुरेन्ट र थिएटर खोल्न पाइनेछ । सुचारु गरिएका व्यापारिक क्षेत्रका ग्राहकले सामाजिक दूरी भने कायम गर्नुपर्ने नियम जारी गरिएका छन् । राज्यभित्रकै केही सहर र क्षेत्रले भने लकडाउन जारी राख्ने निर्णय गरेका छन् ।

लकडाउनका वा विभिन्न प्रतिबन्धका कारण अमेरिकी अर्थतन्त्र निरन्तर ओरालो लागिरहेको विवरण आइरहेका छन् । मध्य मार्चदेखि हालसम्म अमेरिकाको कुल जनसंख्याको १५ प्रतिशत अर्थात् २ करोड ६४ लाख जनता बेरोजगारीको दाबी गरेपछि कैयौं अमेरिकी राज्यलाई व्यापार व्यवसाय सुचारु गर्न दबाब छ । त्यसैले पनि कतिपय राज्यले आर्थिक क्षेत्र सुचारु गर्न हतारिएका हुन् । स्वास्थ्य विज्ञले भने हतारमा लकडाउन हटाइए संक्रमणको अर्को लहर उत्पन्न हुने चेतावनी दिँदै आएका छन् । अमेरिकामा केही दिनअघि मात्र पनि लकडाउन खोल्न माग गर्दै हतियारसहित प्रदर्शन भएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आर्थिक क्षेत्र सुचारु गर्नुपर्ने बताइरहेका छन् ।

कोभिड–१९ संक्रमणका कारण अमेरिकामा हालसम्म ५२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमित संख्या ९ लाख नाघेको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar