संक्रमित बढेसँगै बारा जिल्लामा निषेधाज्ञा जारी, सेना परिचालन गरियो

काठमाडौं- एकै दिन ३९ जना संक्रमित पुष्टि भएपछि बारा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ ।

औषधोपचार र अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्कन नपाउने गरी जिल्ला प्रशासन कार्यालयले मंगलबार निषेधाज्ञा जारी गरेको हो । उसले वीरगञ्जबाट आउने सबै सवारी साधनसहित भारतसँगका सीमावर्ती क्षेत्रमा समेत आवतजावतमा पूर्ण रोक लगाउने निर्णय गरेको छ ।

यसैबीच जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि धेरै संक्रमित पाइएका र अति जोखिमयुक्त क्षेत्रमा नेपाली सेना खटाउने निर्णय भएको जानकारी पनि दिएको छ ।

निषेधाज्ञाको समयमा शान्ति सुरक्षा, स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, भन्सार, आईसीपी, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स र औषधिजस्ता अति आवश्यक सेवाबाहेक सबै पसल, उद्योग, व्यवसाय र सेवा बन्द गर्ने प्रशासनले निर्णय गरेको छ ।

त्यस्तै स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले प्रयोग गर्नेबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनमा रोक लगाइएको छ ।

भारतसँगको सीमा नाका र खुला सिमानाको जुनसुकै स्थानबाट पनि मानिस आउन निषेध गरिएको छ । उनीहरुलाई रोक्न सुरक्षाकर्मीको ब्यापक गस्ती बढाई एसिया डोमिनेसन गर्ने निर्णय पनि प्रशासन कार्यालयले गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।

पर्सा जिल्लाबाट अन्य जिल्लामा र अन्य जिल्लामा पर्सा जिल्लाबाट हुने आवतजावत जेठ ५ गते राति १२ बजेसम्म बन्द गरिएको छ ।


Read Previous

«

Read Next

»

Add Comment

avatar