कारोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

काठमाडौं (एजेन्सी)– विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ज्यान जानेको संख्या शुक्रबार ३ लाख नाघेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार हालसम्म कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या विश्वभर ३ लाख २ हजार ४ सय ५२ पुगेको छ ।

चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोभिड–१९ संक्रमितको संख्या विश्वभर ४४ लाख ४३ हजारभन्दा बढी छ । हालसम्म १५ लाख ८८ हजार संक्रमित निको भएर घर फर्किएका छन् ।

कोभिड–१९ बाट सबैभन्दा धेरै प्रभावित अमेरिकामा मात्र लगभग एक तिहाई अर्थात् ८५ हजार ८ सय ९८ भन्दा बढीले ज्यान गुमाएका छन् भने संक्रमित संख्या १४ लाख १७ हजारभन्दा बढी छ । अमेरिकापछि युरोपेली राष्ट्र बेलायतमा ३३ हजार ६ सय ९३ भन्दा बढीले ज्यान गुमाएका छन् भने इटालीमा मृतक संख्या ३१ हजार ३ सय ६८ भन्दा धेरै छ । फ्रान्समा २७ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् भने स्पेनमा २७ हजार ३ सय २१ जनाको मृत्यु भएको छ । ब्राजिलमा शुक्रबार बिहानसम्म १४ हजार मानिसको मृत्यु भइसकेको छ । कोरोना भाइरसको प्रकोप विश्वका लगभग सबैजसो देशमा छ । संक्रमित संख्याका आधारमा अमेरिकापछि सबैभन्दा प्रभावित रुसमा शुक्रबार बिहानसम्म २ लाख ५२ हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् भने मृतक संख्या २ हजार ३ सय ५ पुगेको छ ।

कोरोना भाइरसको उद्गमस्थल चीनमा भने केही सातायता कसैको मृत्यु भएको छैन । चीनमा हालसम्म ४ हजार ६ सय ३७ जनाले कोभिड–१९ का कारण ज्यान गुमाएका छन् भने ८४ हजार २९ जना संक्रमित पुष्टि भएका छन् भने १ सय ३१ जना उपचाररत छन् । भारतमा संक्रमित संख्या बढ्दो क्रममा छ । हालसम्म ८२ हजारभन्दा बढी संक्रमित पुष्टि भइसकेका छन् भने मृतक संख्या २ हजार ६ सय ४९ पुगेको छ । नेपालमा भने संक्रमित संख्या २ सय ५८ पुगेको छ भने ३५ जना निको भएर घर फर्किएका छन् । नेपालमा हालसम्म कसैको मृत्यु भएको छैन ।

चीनले डिसेम्बर ३१ मा आफ्नो देशमा निमोनिया गराउने खालका कैयौं संक्रमित भेटिएको भन्दै विश्व स्वास्थ्य संगठनलाई जानकारी गराएपछि नोवल कोरोना भाइरसबारे विश्व जानकार भएको थियो । चीनबाहिर जनवरी १३ मा पहिलोपटक थाईल्यान्डमा कोरोना संक्रमित पुष्टि भएको विश्व स्वास्थ्य संगठनले जनाएको थियो । उसले जनवरी ३० मा कोरोना भाइरसलाई विश्व महामारी घोषणा गरेका थियो भने चीनबाहिर पहिलोपटक फेब्रुअरी २ मा फिलिपिन्समा एक संक्रमितको मृत्यु भएको थियो ।


Read Previous

«

Read Next

»

Add Comment

avatar